मध्यपुर थिमिमा यस वर्षको बिस्का जात्राको अवसर पारेर भव्य खुल्ला धिमेबाजा प्रतियोगिता आयोजना हुने
March 18, 20262 min read
मध्यपुर थिमिमा यस वर्षको बिस्का जात्राको अवसर पारेर भव्य खुल्ला धिमेबाजा प्रतियोगिता आयोजना हुने
Advertisement
मध्यपुर थिमि, भक्तपुर – ऐतिहासिक एवं सांस्कृतिक नगर मध्यपुर थिमिमा यस वर्षको बिस्का जात्राको अवसर पारेर भव्य खुल्ला धिमेबाजा प्रतियोगिता आयोजना हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाको आयोजना र श्री राज गणेश धिमे खलः को सहकार्यमा आगामी २०८२ चैत्र २८ गते निगुपुखूको ऐतिहासिक प्राङ्गणमा उक्त प्रतियोगिता हुन लागेको हो।बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, नेवारी संस्कृतिको अभिन्न अङ्ग धिमेबाजाको संरक्षण र नयाँ पुस्तालाई यस कलाप्रति आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो। 'हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय जात्रा र पर्वको गरिमालाई अझ उचो बनाउने विश्वास लिइएको छ। युवाहरूको सक्रियतामा २०७३ सालमा स्थापित राज गणेश धिमे खलःले विगत लामो समयदेखि बाजागाजाको मर्मत, नयाँ खरिद र प्रशिक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। आर्थिक अभावका कारण बाजा संरक्षणमा हुने कठिनाइ र जात्रामा धिमे बजाउने जनशक्तिको कमीलाई पूर्ति गर्न यो खलःले निरन्तर तालिमहरू प्रदान गर्दै आएको छ। हाल यस खलःमा ८८ जना आजीवन सदस्यहरू आबद्ध रहेका छन्।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूका लागि आकर्षक नगद पुरस्कार र सम्मानको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ५४ हजार ४ सय ४४ रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यसैगरी, द्वितीय हुनेलाई २५ हजार ४ सय ४४ रुपैयाँ, तृतीय हुनेलाई १५ हजार ४ सय ४४ रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई १० हजार ४ सय ४४ रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिनेछ। यसका अतिरिक्त निर्णायक मण्डलको तर्फबाट उत्कृष्ट छनोट हुने एक टोलीलाई ५ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगितामा सहभागी हुन चाहने प्रत्येक टोलीका लागि २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन अध्यक्ष हरि कृष्ण भाग्यो श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ। साथै, आर्थिक, प्रचारप्रसार, स्वयंसेवक, अतिथि सत्कार, खाजा व्यवस्थापन, मञ्च र निर्णायक मण्डल व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमितिहरू समेत परिचालन गरिएको छ।मध्यपुर थिमिका बिस्का जात्रा, जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा जस्ता विश्वप्रसिद्ध पर्वहरूमा धिमेबाजाको आफ्नै विशिष्ट महत्व रहने भएकाले यस प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका धिमे टोलीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।